Wednesday, April 6, 2011

यी हुन् राष्ट्र लुट्ने ठूला व्यापारी - (चौधरीदेखि भाटभटेनी स्टोरसम्मका ठगी नालीबेली) -



by Share Bazaar on बुधबार , अप्रिल 6, 2011 तारिख 1:40साँझ बजे
सेतो टिर्सट लगाएर शान्तिको वकालत गर्ने, संविधान निर्माणका लागि राजनीतिक दललाई दबाव दिएको भन्दै भाषण गर्ने देशका घरानीय ब्यापारीहरुको कालो अनुसार उदाङ्गो हुँदै गएको छ ।
आन्तरिक राजश्व बिभागले थालेको नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अनुहारहरु कुनै न कुनै दलको बुई चढेर सभासद् बनेका र शासन चलाउनेसम्म प्रत्यक्ष पहुँच भएका ब्यबसायीहरु छन् । जसले एक दुई लाख वा दुई चार करोडमात्रै हैन अरवौं रुपैयाँ कर छली गरेर अकुत सम्पत्ति कमाएका छन् ।
नक्कली भ्याट बिल छानविन प्रारम्भ भएपछि उनीहरुले स्वभाविकरुपमा आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर मन्त्री फेरे, सचिवलाई राजीनामा दिन बाध्य बनाए अनि अनुसन्धानमा संलग्न अधिकारीहरुलाई रातारात सरुवा गरे ।
अब उनीहरु पुरक बजेटसँगै कानुन संशोधन गराएर कम जरिवाना तिरेरै उम्कने तयारीमा छन् । नक्कली नोट छापे बराबरको यो अपराधमा उनीहरुलाई सामान्य जरिवाना तिराएर उम्काउने प्रयास भइरहेको छ भने मुलुक लुट्नेहरुको सूचना गोप्य राखेर उनीहरुलाई पुनः लुट्ने मार्ग प्रसस्तसमेत गरिदैछ ।
पार्टीमा सभासद रहेका, ठूला राजनीतिक नेताको बेडरुमसम्म पहुँच भएका, बैंक, अस्पताल र उद्योगधन्दामा संलग्न उनीहरुको लुटको प्रत्यक्षदर्शी बनेका छन्, नेपालका ब्यबसायीक भनिने ठूला सञ्चारगृहहरु ।

यी हुन् राष्ट्र लुट्ने व्यापारी :
आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याट बिलबाट राजस्व छलेका छन् । यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटबिलको कारोबार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका छन् भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर भ्याट फिर्तावापत सरकारबाट ८९ करोड रुपैयाँ लिएका छन् ।

नक्कली भ्याट बिल अपराधमा संलग्न हुनेहरुमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी सुपरमार्केट र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन् । नक्कली भ्याट बिल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका र्फमहरु समेत छन् । चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली कांग्रेसको कोटाबाट मनोनित गरिएको हो ।

शंकर समूह :
छानविन गरिएका ३१ वटा र्फममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको छ । आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।

पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली बिलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ । ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो । त्यो भनेको ६० करोड रुपैयाँ हो ।

भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन् । डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो । वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आˆनो वेभसाइटमा गरेका छन् । ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० र्फममा गोल्यानका अन्य र्फमहरु पनि छन् । यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन् ।

चौधरी ग्रुप :
चौधरी ग्रुप अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट बिल प्रकरणमा छ । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ ।
छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच खाद्य कम्पनीमध्ये सिजी फुड पनि छ । ‘सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट बिल फेला परेका छन्’ आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दियो ।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन् । उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो ।

सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो जसबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । ‘छलि गर्नेमा सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टल हो’ विभाग स्रोतले बतायो ।

गोल्छा समूह :
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदयीमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ ।

गतवर्ष गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट बिल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।

बिशाल समूह :
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।

युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ । राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ ।
विशाल समूहका अध्यक्ष जेपी अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टीआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन् ।
उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एसियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन् । स्रोतका अनुसार नक्कली भ्याट बिल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० र्फममा विशाल समूहका अन्य र्फम पनि छन् ।

भाटभटेनी सुपरमार्केट :
यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको ८ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।

‘भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ’ आन्तरिक राजस्व विभाग स्रोतले अनलाइनखबरलाई जानकारी दियो । भाटभटेनीले पनि नक्कली बिलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो । ‘धेरैजसो नक्कली बिल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी’ अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो ।

बरुण डेभलपर्स :
गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको र्फम वरुण डेभलपर्स पनि नक्कली भ्याट बिल प्रकरणमा छ । यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ ।

वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न अर्पाटमेन्ट बनाएर विक्री गरेको छ । एउटै अर्पाटमेन्टलाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ ।

चमेलिया जलबिद्युत आयोजना :
नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ । चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली बिल खरिद गरेको स्रोतले बतायो । झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट बिल किनेर परियोजनाले भेरिएशन बढाएको थियो । तर खर्चमा देखाउन भ्याट बिल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन ।

युनाइटेड बिल्डर्स :
यसैगरी यो सूचीमा युनाईटड विल्डर्स पनि परेको छ । अनामनगरमा रहेको मार्फा हाउसबाट ठेकेदारी धन्दा गर्ने सकुन्तलाल हिराचनको कम्पनी युनाइटेड विल्डर्स पनि राजस्व छलीमा फेला परेको ठूलो कम्पनी हो । स्रोतका अनुसार युनाइटेड विल्डर्सबाट १३ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ ।
त्रिपुरेश्वरमा वल्र्ड ट्रेड सेन्टर बनाएको युनाइेटेड विल्डर्सले वीर अस्पतालको ट्रमा सेन्टर पनि बनाएको थियो । कम्पनी नक्कली भ्याट बिलमा फसेपछि यसै त हिराचनको हालत खराब भएको छ अर्कोतर्फ वल्र्ड ट्रेड सेन्टरबाट पसल भाग्न थालेपछि थप विचल्ली भएको छ । राजधानीमा थुप्रै मलहरु खुल्न थालेपछि वल्र्ड ट्रेड सेन्टरको व्यापार ओरालो लाग्दो छ ।

थलमानले पनि लुटे देश :
अरु सबैले नक्कली भ्याट बिलको कारोवार गरेर देश लुटे पनि केही चार्टड एकाउटेण्ट भने सरकारको ढुकुटीबाट सिधै डाँका मार्ने धन्दामा लागेका छन् । उनीहरुले सामान निकासी गरेको नक्कली कागजात पेश गरेर तिर्दै नतिरेको भ्याट सरकारको ढुकुटीमा सिधै निकालेका थिए । यस्तो सूचीमा हिसावकिताव मिलानको काम गर्ने थलमान सुवेदी छन् । थलमान सुवेदीको दुईवटा र्फमले झण्डै ६० करोड रुपैयाँको निकासी देखाएर झण्डै १० करोड रुपैयाँ ‘भ्याट रिफण्ड’ लिएका थिए ।

वानेश्वरमा कार्यालय खोलेका थलमानलाई प्रष्टिकरण दिन आन्तरिक राजस्व विभागले पटक पटक पत्राचार गरे पनि उनी भने फरार छन् । नक्कली कागजात बनाएर राजस्व छलेको सार्वजनिक भएपछि थलमानको कार्यालय बन्द छ । लामो समयदेखि कार्यालय बन्द राखेका थलमान विरुद्ध सञ्चारमाध्यममा दोस्रो पटक सार्वजनिक सूचना आएपछि उनले कार्यालयका कम्युटर र फाइल लगेर हिंडेका छन् । केही दिनअघिमात्रै रात परेपछि उनका सहयोगीहरुले कार्यालय पुगेर फाइल र कम्युटर लगेका थिए ।  (जनआस्थाबाट)


No comments:

Post a Comment