Friday, March 16, 2012

लौ यस्तो पनि भुत निस्किएपछि हेर्नेको घुइँचो

लौ यस्तो पनि
भुत निस्किएपछि हेर्नेको घुइँचो
===============
२१ औं शताब्दीको युगमा भुत हुन्छ भनेर भन्यो भने तर्क बितर्क चल्ला । कसैले हुन्छ भन्लान् त कसैले हुँदैन भन्लान् । तर तपाई चाहिँ पत्याउनुहोस् या नपत्याउनुहोस्, इटहरा-७ दाम्राभिट्टामा एक सातादेखि लगातार अदृश्य शक्तिले सताइरहेको छ । यो घटनाले स्थानिय बासिन्दा समेत आर्श्चयमा परेका छन् । कसैले यो अदृश्य शक्तिलाई भुतको संज्ञा लिएका छन् त कसैले प्रेत जागृत भएको बताएका छन् ।


तेजन खड्काको रिपोर्ट

गाउँमा भुत निस्किएपछि मोरङको इटहरामा-७ सिक्किमे टोलमा भुतको चर्तिकला हेर्नेको भीड लागेको छ । भुत निस्किएपछि दैनिक हजारौंको संख्यामा भुतको चर्तिकला हेर्न आउनेहरूको कमी छैन । सुरूमा गाउँघरमा मनमाया बस्नेतको परिवारलाई भूतले दुःख दिएको हल्ला चल्यो ।

जग्गा आफ्नै भएपनि त्यो स्थानमा बुहारीकी दिदी मनमाया घर बनाएर विगत ४ वर्षदेखि बस्दै आएकी थिइन्। मान्छे पिच्छे भिन्नाभिन्नै कुरा सुनेपछि ८७ वर्षीया हरिमाया सिलवालको पनि मन अडिएन र दिउँसो अढाइ बजेतिर अदृष्य शक्ति हेर्न मनमायाको घर पुगिन् ।
उनी पुग्नासाथ अदृष्य शक्तिले चर्चिकला देखाउन थालिहाल्यो । हरिमाया भन्छिन्, ‘म पुग्नासाथ घरभित्रका नाङ्ला, बट्टा निकाल्दै आँगनमा फाल्न थाल्यो । म हेरेको हेर्‍यै भएँ’, उनी थप्छिन, ‘बजियाले गरिवको घरमा मात्र कति दुःख दिएको अन्तै जानु नि’ मात्र भनेको थिएँ त्यसले त कोठा भित्र डालोमा राखेको चामल ल्याएर मेरो अगाडि थुपारिदियो । मलाई उठाउन दुई घण्टा लाग्यो ।
स्तब्ध अनि भावूक बन्दै बुधवार दिउँसो मनमायाको घरमा भेला भएका झण्डै डेढ सय स्थानीय वासिन्दाका अगाडि हरिमायाले भनिन्, ‘८७ वर्षकी भएँ, आजसम्म यस्तो कहींकतै न त देखेको थिएँ न सुनेको र भोगेको नै थिएँ’, उनी भन्छिन्, ‘अनेक गर्छ, चामल त पोख्यो खोले त उचाल्न सके पो भनिसक्दा तातो खोले घोप्ट्याइ दियो । म बुढी यो उमेरमा के पो देखिरहेकी छु ।’ कहिले ढुंगा हान्छ, घरको बेराका भाटा निकालिदिन्छ । स्थानीय प्रत्यक्षदर्शीले हरिमायाका कुरामा कुरा थप्दै सामूहिक प्रतिक्रिया दिए ।

त्यसो त यो घटनाको भुक्तभोगी हरिमाया मात्रै होइनन् । हरिमायाका छोरा ध्रुव सिलवाल अदृष्य शक्तिले दिएको दुःखबाट हैरान भइसकेको बताउँछन् । सिलवाल भन्छन्, ‘गत साउन ४ गते देखि लगातार दुःख दिइरहेको छ । शुरु शुरुमा घरमा ढुंगा फाल्थ्यो । केहि दिनपछि शिशाका टुक्रा फाल्न थाल्यो । कहिलेकाँही त प्वालबाट सुतिरहेको मान्छेको सल समेत तानिदिन्थ्यो । बाहिर निस्केर हेर्दा निष्पट अध्याँरो मात्र, केही देखिन्नथ्यो । अति भएपछि हामीले गाउँसमाजमा कुरा राख्यौं । छिमेकीहरूले चोरले दुःख दिएको अड्कल गरे ।’ उनी भन्छन्, ‘त्यसपछि समाजले रातभर घरको सुरक्षा दियो । गाउँका कसैले रुखमा चढेर घरमा निगरानी गरे । कसैले हतियार बोकेर पहरा दिए तर एकसाता कडा सुरक्षा दिँदा पनि भौतिक उपस्थिति केही देखिएन । यद्यपि अदृष्य शक्तिले दुःख दिन छोडेन ।’
भूतप्रेतको ज्यादती बढेपछि केही दिनअघि बस्नेत परिवारले घर वरिपरि लिपपोत गर्यो । भोलिपल्ट विहान लिपपोत गरेको ठाउँमा ६ वटा पाइला देखिए । पाइला देख्ने प्रत्यक्षदर्शी दुर्गाप्रसाद सिलवालका अनुसार पाइलामा अर्को चमत्कार देखियो । उनी भन्छन्, ‘पाइला सबै उमेर समूहका मानिससँग मिल्ने थिए । केटाकेटीसँग दाँज्यो केटाकेटीसँगै मिल्ने, वृद्ध-वृद्धासँग दाँज्दा वृद्ध-वृद्धासँग नै मिल्ने ।’ यस घटनाले दाम्राभिट्टावासीमा अझ कौतुहता सहितको त्रास फैलियो । अदृष्य शक्तिको कथा यतिमा नै सकिदैन ।
वैदेशिक रोजगारमा गएका छोरालाईसमेत दैवी शक्तिले दुःख दिन थालेपछि माइला छोरा विकास काम छोडेर घर फर्किएको बताउँछन । विकास भन्छन्, ‘मलाइ दुःख दिएको तीन वर्ष भयो, त्यति वास्ता गर्दिन थिएँ । घरमा अचानक आगो सल्केको देखेपछि प्रत्यक्ष देख्न र भोग्न पाएँ ।’ विकासका अनुसार घरमा कहि कतै आगो बालेको थिएन, अचानक फुसको छानो भएको घरको धुरीमा आगो बलेपछि हार गुहार गर्यौं र आगो निभायौं ।

अझ मनमायाकी जेठी बुहारी सीता बस्नेतको भोगाइ सुन्दै जिरिङ्ग हुने खालको छ । उनी भन्छिन्, ‘साँझपख नै ढोकामा ढ्याक-ढ्याक पार्छ कोही आयो कि भनेर खोलेर हेर्दा केही देखिँदैन । मध्यरातमा घरका वारमा ट्वाक्क- ट्वाक्क पारिरहन्छ । परिवार नै वाहिर निस्केर हेर्यो, सुनसान हुन्छ, केहि देखिदैन । कहिलेकाँही बाँसका ठूटाले घोचिदिन्छ । ठूटा, घोचा घरको छानामाथि फालिदिन्छ ।’ सीताले बेलिविस्तार लगाउँदै आफ्नो भोगाइ सुनाइन् ।
भूत प्रेत र पिचासका विषयमा नाक खुम्च्याउनेहरू समेत यसबेला तीन छक्क भएका छन् । स्थानीय महेन्द्र निमाविका शिक्षक पशुपतिनाथ बड्तौलाको पेन्ट तानेको घटना सुनाउँदै अर्का शिक्षक तुलसी रिजाल भन्छन्, ‘हल्ला सुनेर हेर्न आउनेलाईसमेत अदृष्य शक्तिले दुःख दिइरहेको छ’, रिजाल थप्छन्, ‘हेर्दा हेर्दै कसैको कपाल तान्छ, कसैको लुगा तान्छ, भौतिक रुपमा प्रत्यक्ष अगाडि केही देखिदैन’, रिजाल यो घटनाले विज्ञानलाई चुनौति दिएको बताउँछन् ।
भूत पिसाचको स्थायी समाधानका लागि बस्नेत परिवारले धेरै धामी झाँक्रीसँग सहयोग मागिसकेको छ । अक्षता फ्याँक्ने, धुपबाती बाल्ने, अण्डा कुखुराको भोग दिने र भाकल पूरा गर्ने सबै काम बस्नेत परिबारले गरिसक्यो । यद्यपि प्रेतले दिने समस्या जिउँका तिउँ छ । एउटा घटना सुनाउँदै बुहारी सीता भन्छिन्, ‘हामीले हिन्दु मात्र होइन, इस्लामिक धामीलाई समेत लगायौं उनले एउटा कवाज गाड्न लगाए तर अदृश्य शक्ति टसको मस भएको छैन ।’ पछिल्लो समय दिएको दुःखले आजित भएको बस्नेत परिवारले मंगलबार प्रहरीसँग समेत गुहार माग्यो । झण्डै अढाई घण्टा प्रहरीले बस्नेत परिवारको घरमा सुरक्षा दियो । तर त्यो अवधिमा कुनै प्रतिक्रिया देखिएन । सुरक्षाबाट फर्किएका इटहरा प्रहरी चौकीका इन्चार्ज देवी प्रसाद खरेलले भने ।
बुधवार अपरान्ह मनमाया बस्नेतलाई अचानक अदृष्य शक्तिले छोप्यो । दुई घण्टासम्म बेहोस भएकी बस्नेत एक्कासी बेहोस भएपछि गाउँमा ठूलै खैलाबैला मच्चियो । तीन दिनयता समय समयमा बेहोस भईरहेकी मनमायालाई अदृष्य शक्तिले अन्य कुनै चमत्कार देखाउन नसकेपछि बेहोस पार्ने गरेको उनकी बहिनी इन्दिरा सिलवालको ठम्याइ छ । उनी भन्छिन्, ‘धेरैजना मान्छे भएको बेला कुनै पनि प्रतिक्रिया नदेखाई मनमाया र परिवार माथि आइलाग्ने गर्छ ।’ उ आइलागेपछि बेहोस हुने, काँप छुट्ने लक्षणहरू देखिने गरेको बताउँदै उनले तीन दिनयता यस्तो घटना चारपटक दोहोरिएको बताइन ।

No comments:

Post a Comment