Tuesday, February 28, 2012

मकाउ - नेपाल 'फ्रि भिसा' सम्झौता हुने




              पूर्ण बस्नेत, सांघाई (चीन) फागुन १७ - 'अन अराइभल' भिसा रोकेको डेढ वर्षपछि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले नेपालसँग 'फ्रि भिसा' सम्झौताको तयारी गरेको जनाएको छ। मंगलबार सरकारी मुख्यालयमा सर्वियासँग फ्रि भिसा सम्झौता गरेपछि मकाउका प्रशासन तथा न्याय मन्त्रालयका अधिकारीले नेपाल र रुससँग पनि छिट्टै सम्झौता हुने बताएका हुन्।





'मकाउले द्विपक्षीय भिसा सम्झौता गरेको सर्विया ९४ औँ देश हो, संभवत तीन महिनाभित्रै नेपाल र रुस यो सूचीमा संलग्न हुनेछन्', मन्त्रालयका निर्देशक लाइलेङ किटलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले लेखेको छ।

सरकारले ठूलो मिहिनेतपछि अमेरिका तथा क्यानडासँग फ्रि भिसा सम्झौता गरेको जनाउँदै किटले मकाउका नागरिकको अन्तर्राष्ट्रिय सम्मान तथा पर्यटन वृद्धिका लागि यसो गर्नु आवश्यक भएको तर्क गरेका छन्।


चीनका लागि सर्वियाली राजदूतसँग भिसा सम्झौतामा हस्ताक्षर गरेपछि मकाउकी प्रशासन तथा न्याय मन्त्री फ्लोरिण्डा चाङले दुई देशबीच घनिष्ठ सम्बन्ध विकास गरी धेरै पर्यटक भित्र्याउन यस्तो कदम चालिएको बताइन। चाङले भनिन्, 'विश्व समुदायसँग सांस्कृतिक तथा आर्थिक सम्बन्ध वृद्धि गर्न हामी अन्य देशहरूसँग पनि यस्तो सम्झौता गर्ने तयारीमा छौँ।'

गैरकानुनी नेपाली कामदारको संख्या बढेको र उनीहरू लागू पदार्थको कारोबारमा समेत संलग्न भएको आरोप लगाउँदै १ जुलाई २०१० देखि मकाउले नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भियतनाम र नाइजेरियाका नागरिकलाई 'अन अराइभल' भिसा बन्द गरेको थियो। त्यसयता काठमाडौँस्थित चिनिया दूताबासबाट भिसा लिएर आउने नेपालीले मात्र मकाउमा प्रवेश पाउँथे।

फ्रि भिसा सम्झौता भएमा एसियाकै ठूलो क्यासिनो बजार मकाउमा नेपालीलाई प्रवेश सहज हुनेछ। स्रोतका अनुसार फ्रि भिसा सम्झौता भ्रमणका लागि मात्र हुनेछ तर कामका लागि मकाउ आउन पनि यसले सहज बनाउने छ। मकाउमा करिब दुई हजार पाँच सय नेपाली कार्यरत छन्।

मकाउ समेत हेर्ने हङकङस्थित महावाणिज्य दूताबासले फ्रि भिसा सम्झौताको तयारीबारे अहिलेसम्म जानकारी नआएको जनाएको छ। 'फ्रि भिसा सम्झौताबाट नेपालले फाइदा लिन सक्छ, तर मकाउ सरकारले अहिलेसम्म त्यसबारे हामीलाई जानकारी दिएको छैन', वाणिज्यदूत किरण शाक्यले भने, 'दुई देशबीच त्यस्तो सम्झौता भयो भने नेपालीलाई मकाउ प्रवेश सहज हुन्छ, मकाउका पर्यटकलाई नेपाल जान प्रोत्साहन पनि हुन्छ।'

No comments:

Post a Comment