Sunday, March 17, 2013

चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन थापा!!




सरल सहयात्री
युवा नेता गगन थापाज्यू,

एकजना राजनैतिक सहकर्मीका रुपमा म तपाईलाई देशको राजनीतिमा एउटा उर्जाशील भविष्य बोकेको युवा नेताका रुपमा चिन्दछु । देशले तपाईमा जागृत उर्जाको सदुपयोग लामो समय गर्न पाउनुपर्छ । तपाईप्रति अपेक्षा राख्ने एउटा तप्काको चाहना हो यो । साथसाथै तपाईले बिर्सन नहुने अर्को सत्य के हो भने, धेरै जुझारु राजनैतिक युवा नेताहरुलाई नेपालको राजनैतिक कालो बादलले छोपेर राखेको छ । तपाई ती ‘भाग्यमानी’ युवाभित्र पर्नुहुन्छ, जो त्यो बादलभन्दा बाहिर देखिन सक्नुभएको छ । त्यसको मूख्य भुमिकामा तपाईको योगदानको साथसाथ संञ्चार जगतको ठूलो भूमिका रहेको कुरामा सायद तपाईभित्र पनि विवाद नहोला ।

saralजे होस, मेरो विषय तपाइको प्रसंसा गर्नु होइन । वरु तपाईको पछिल्लो अभिव्यक्तिप्रति सुझाव गर्नु हो । केही समय अगाडि तपाईले कुनै कार्यक्रममा बोल्नुभएको थियो ‘म प्रचण्ड लडेको कुनै पनि क्षेत्रवाट लडेर जित्ने छु’ । मलाइ लागेको थियो – कहिलेकाहिं युवाहरुमा संवेगको उत्कर्षको रुपमा यस्ता अभिव्यक्ति हुन्छन् नै, जुन मेरो समेत अनुभव हो । तर रेग्मी नेतृत्वको चुनावी सरकार बन्नासाथ अनलाइनखबरमार्फत तपाईले सो अभिव्यक्ति दोहोर्‍याएर मलाई प्रतिक्रिया लेख्न बाध्य बनाउनुभएको छ ।

तपाईले चुनाब जित्नुहोला, वा हार्नुहोला त्यो भविष्यको कुरा हो । तर, अघिल्लो चुनावको तीतो सत्य के छ भने एमालेका जिम्वेवार नेताहरुले काठमाण्डौंभित्र तत्कालीन माओवादीसंगको सहकार्यलाई खिल्ली उडाउदै ‘१६ औं क्षेत्रमा मात्रै सहकार्य गर्नुपर्ला π’ भन्ने अभिव्यक्ति दिएका थिए । परिणामतः माधव नेपाल नै हारेर काठमाण्डौमा एमालेको नील भयो । भलै यस्ता उदाहरण र तथ्यांकहरु राजनीतिका लागि सान्दर्भिक मानिँदैनन् । तर, फलेको फल नुहिएको हुन्छ भन्ने नेपाली उखान चाहिँ सार्वभौम छ । तपाईले देखाएको घमण्डले युवाहरुको उर्जालाई मुडाग्रहमा रुपान्तरण गर्ने जवरजस्त कोशिस गरेको छ ।

थापाजी, हामीले आजको परिवेशमा राजनीतिको केही प्रवर्गबारे अलि गहिरो बहस गर्न आवश्यक भएको छ । दक्षता र राजनीतिवीच के फरक छ ? यसले समाजमा के असर पारिरहेको छ ? यसले राजनीतिमा र पार्टिभित्र कस्तो प्रकारको असर पारिरहेको छ ? यो अध्ययनमात्र होइन, हरेक पार्टीभित्रको कार्यान्वययनको विषय बनाउने गरी बहसको आवश्यकता छ । आजको हाम्रो समाजमा बुद्धिजीवी र राजनीतिज्ञवीचको मूख्य भिन्नता भनेकै वुद्धिजीवीहरु दक्ष तर मनोगत हुने, तथा राजनीतिक व्यक्तिले दक्षतामा ध्यान नदिने र व्यावहारवादी हुने भएको छ । वुद्धिजीवीहरु आफ्ना मनोगत अध्ययनलाई समाजका अन्तरविरोधसंग मेलै नखाने गरी हुबहु प्रयोग गरियोस् भन्ने ठान्छन् । आफुलाई देशको सबभन्दा उत्तरदायित्व भएको अब्बल व्यक्ति ठान्छन् । यता राजनैतिक व्यक्तिहरु यथार्थसंग खेल्दै अगाडि बढेका हुन्छन् । भलै दक्षता पूर्ति गर्ने कुरासँग मेल नखाँदा उनीहरुको विरोध हुने गरेको छ । जस्तोसुकै भएता पनि कोठामा बसेर हजारौं किताव अध्ययन गर्नेभन्दा समाजमा गएर हजारौं अन्तरविरोधसंग खेल्ने व्यक्तिले परिस्थितिको ठीक ठीक मूल्यांकन गर्न सकेका हुन्छन् र तिनैले देशलाई ठीक तरिकाले अगाडि लैजान सक्छन् ।

अहिलेको परिवेशमा कुशलता र दक्षताले कुशल राजनीतिज्ञलाई सघाउने र कुशल राजनीतिज्ञले दक्षहरुको सहयोग लिने सौहार्दता हुनपर्नेमा यी दुबै प्राणीहरु आफ्नो दुनो सोझ्याउनमा मस्त छन् । तर, वुद्धिजीवी र राजनीतिज्ञमध्ये वुद्धिजीवीको मनोगत हठ नै सबैभन्दा खराब हो । उनीहरु समाजको अन्तरविरोधहरुलाई सही तरिकाले मूल्यांकन गर्न चुकेका हुन्छन् र आफ्नो वौद्धिक मूर्खताबाट पछारिँदासमेत चेत खाँदैनन् । तपाई आफैं भन्नुस् यी दुई प्राणीमध्ये तपाई कुनचाहिँमा पर्नुहुन्छ ? अर्थात यी दुबैको संयोजनमा बनेको एक शालीन, उर्जाशील र अपेक्षाकृत युुवा बन्ने अभियानमा हनुहुन्छ ? यो छनौटको चुनौति हामी आम युवाकै हो, जसमा तपाई अलग हुनुहुन्न ।

गगनजी, विषयलाई केहीबेर फरक प्रसंगमा मोडेर चर्चा गरौं । वास्तवमा तपाई र मेरो वीचमा के-के भिन्नता होलान् ? सामान्यतया भन्न सकिएला । जस्तैः तपाई नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ उर्जाशील कार्यकर्ता हुनुहुन्छ र म अहिलेको नेपालको ठूलो र नयाँ पार्टी एनेकपा माओवादीको उर्जाशील कार्यकर्ता हुँ । तपाईले आफ्नो पार्टीको दर्शनअनुसार सडक संघर्षबाट आफ्नो जीवनको उर्जाशील समय राजनीतिमा खर्च गर्नुभएको छ र मैले मेरो पार्टीको दर्शनअनुसार त्यो समय जनयुद्धको मोर्चामा खर्चिएको छु । तपाई लोकतान्त्रिक गणतन्त्रका लागि लडें भन्नुहुन्छ र म जनवादी गणतन्त्रको लागि लडें भन्छु । तपाई शान्तिपूर्ण संघर्षको कुरा गर्नुहुन्थ्यो र म सशस्त्र युद्धमा विश्वास राख्थें । तपाई समानुपातिकबाट सभासद हुनुभयो र म क्यान्टोनमेन्टभित्र बसिदिँदा देशमा केही हुन्छ की भन्ने ठानेर बसें । आज राजनीतिको चासो राख्ने सबैले सजिलै तपाइलाई चिन्न सक्छन् तर मलाई शायद एकाध कसैले मात्र चिन्ला ।

तपाई र ममा के समानता छ ? यो पनि हेर्ने कोशिस गरौं । सामान्यतया तपाईले विद्यार्थी राजनीतिवाट राजनीतिको शुरुवात गर्नुभयो र मैले पनि त्यहींबाट । तपाई राजतन्त्रको विरुद्धमा सडकमा खडा हुनुभयो, म पनि राजतन्त्रको विरुद्ध युद्धमोर्चामा खडा भएँ । तपाईले पार्टीभित्रको कु-परम्पराको विरुद्धमा निरन्तर आवाज उठाउनु भएको छ र म पनि आफ्नो पार्टीभित्र लडिरहेको छु । अबको राजनीतिमा युवाहरुको भूमिका पार्टी तथा सरकारमा अगाडि हुनुपर्छ भन्ने मान्यता तपाई राख्नुहुन्छ र म पनि त्यही मान्यता राख्छु । अबको राजनीति दक्ष र रोजगारसहितका युवाले गर्नुपर्छ भन्ने तपाई ठान्नुहुन्छ र म पनि त्यही भन्दै आइहेको छु ।

हरेक क्षेत्रमा युवाहरुको सक्रिय भूमिकाले मात्र यो देशको परिवर्तन संभव छ भन्ने मान्यता सायद हामी दुवैजना राख्छौं । सायद धेरै भिन्नता र समानतामध्य माथिका केही मुख्य कुरा हुन सक्लान् π तर, माथि उल्लेखित समानता वा असमानताका आधारमा मूल्यांकन गर्ने हो भने तपाई र मेरो वीचखासै फरक हुनु नपर्ने हो । हामीवीचको फरकमध्ये महत्वपूर्ण फरक अर्को पनि छ । गगन थापा राजनैतिक मिडियाको हिरो हो । त्यसमा कसैको दुईमत छैन । यसमा युवाहरुले गर्व गर्नुपर्छ । मेरो कुनै अपसोच छैन । तर, मेरो थप कुरा यतिमात्र हो, तपाईमात्र त्यस्तो युवा सुपरम्यान होइन, जो यो देशको राजनीतिक कायपलट एक्लैले गर्न सक्नुहुन्छ । तपाइलाई यो जानकारी हुन जरुरी छ कि तपाई बराबरका युवाहरु देशको राजनीतिमा धेरै छन् । फरक यति हो, उनीहरुका साथमा तपाइका साथमा जस्तो मिडिया छैन । अर्थात सबैले चिन्नु र सबैलाई जित्नुमा धेरै फरक छ भन्ने कुरा तपाइजस्तो वौद्धिक राजनीतिक युवा नेताले बुझ्नै पर्छ । साथसाथै देशमा विकाश भइरहेको मिडिया र आर्थिक सामाजिक रुपले पछाडि रहेको समाजको अन्तरविरोध वीचमा फरक छुट्याउनै पर्छ । अन्यथा निकै ठूला वादशाह पनि आज जंगलको बास बसेर मन्दिरको भ्रमण गर्दै समय व्यतीत गर्छन् भन्ने कुरालाई नजर अन्दाज गर्नुहँुदैन । व्यक्तिलाई चिन्नु र व्यक्तिलाई छान्नुका वीचमा आकाश र जमीनको फरक छ ।

सबभन्दा धेरै व्यक्तिलाई देखेको र सुनेको आधारमा चुनावमा जितिने हो भने आजभन्दा २० वर्ष अगाडि नै राजेश हमाल नेपालका राष्ट्रपति भइसक्ने थिए होलान । त्यो अर्कै कुरा हो । नायक फिलिम हेरेर देशलाई परिवर्तन गर्छु भन्ने सपना प्रचण्डले पनि नदेखेका होइनन् । तर, सिष्टमलाई परिवर्तन गर्न व्यक्ति महत्वपूर्ण भएता पनि आम रुपमा जनतालाई परिवर्तनको एजेण्डा जानकारी हुन अत्यावश्यक छ । कोही युवा हँुदैमा, देश बन्ने पनि होइन र कोही बुढा हुनेवित्तिकै देश बर्वाद हुने पनि होइन । मूल रुपमा आवद्ध भएको पार्टीको संस्थागत मान्यता के हो, त्यो नै देशका लागि काम लाग्ने चिज हो ।

अन्तमा, यावत कुरा गर्नुको मेरा लक्ष तपाईलाई प्रचण्ड उठ्ने चुनावक्षेत्रबाट भड्काएर प्रचण्डलाई सुरक्षित गर्नु होइन । यथार्थको धरातलमा तपाई हुनुहुन्छ भने र देशमा केही गरौं भन्ने लागेको छ भने तपाई अरुलाई पछार्ने अभियानमा नलाग्नुस् र आफु कहाँबाट जित्न सक्नुहुन्छ, त्यहीँबाट जितेर केही गर्ने सोच राख्नुस् । होइन भने तपाई आजको युवा नेता होइन, पूर्वाग्रहले ग्रसित परम्परागत सोच भएको र उमेरले मात्र युवा नेता कहलिनु हुनेछ । होइन, तपाईलाई चुनौतीमै खेलेर, दुनियाँलाई देखाएर अर्थात मिडियामा हिरो कहलिएर नै आजको युवाहरुको भुमिका राजनीतिमा पर्याप्त छ भन्ने लाग्छ भने धेरै ठूला कुरा नगरिकन मेरो जिल्ला सिन्धुपाल्चोकमा आउनुस् र कम्तिमा कांग्रेसलाई सिन्धुपाल्चोकमा जिताएर देखाउनुस् । तपाईलाई सायद धेरै मान्छेले मान्न सक्छन् । तर, तपाई कतै जाँदैमा वा आउँदैमा तपाईका पछि दगुर्ने गणेशमानजीका पालाका ‘भेडाहरु’ आज कहाँ छन् र देशमा ?

     युग मगर द्वारा लिखित

No comments:

Post a Comment