Monday, March 7, 2011

अब औषधी पनि निःशुल्क



 बाबुराम सुवेदी
धरान/डाक्टरहरुको काम बिरामी जाँच्ने र औषधी लेख्ने हो । तर, यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर भने साह्रै अनौठा छन् । उनलाई चिन्नेजान्नेहरु भगवान्को अवतारसमेत भन्न पछि पर्दैनन् । प्राध्यापक डाक्टर सञ्जीव शर्मा छन् नै त्यस्ता ।
उनी कार्यालय समयमा बिरामी जाँच्ने र औषधी लेख्ने त गर्छन् नै, त्यसबाहेकको समय रोगी खोज्दै गरीब बस्तीहरु चहार्छन् । मृगौला रोग विशेषज्ञ डा. शर्माले चार वर्षदेखि मृगौला रोगीको खोजी र रोगबाट बच्ने उपायका बारेमा निःशुल्करुपमा सचेतना जगाउँदै हिँडेका छन् ।
खोजी अभियानमा शर्माले धेरै रोगी भेटे । तीमध्ये धेरैजसो रोगी आफ्नो रोग निको पार्न औषधी किन्ने पैसा नभएका भेटिएपछि डा. शर्मा आजभोलि निःशुल्क औषधी व्यवस्था गर्ने अभियानमै पो जुटेका छन् ।
‘बस्तीहरुमा औषधी किनेर खाननसक्ने बिरामी थुप्रै भेटिए’ उनले भने, ‘त्यसैले औषधीको खोजीमा लाग्यौं ।’ नेपालका औषधी कम्पनीहरुसँग आग्रह गरेपछि मधुमेह, उच्च रक्तचाप र मृगौला रोगसम्बन्धी औषधी निःशुल्क मागिएको उनले बताए । मागिएका औषधीहरु सोमबारदेखि बीपी प्रतिष्ठान हातामा निःशुल्क वितरण गर्न सुरु गरिएको छ ।
ती औषधीहरु केएचडीसी कार्यक्रमअन्तर्गत बस्तीमा भेटिएका गरीब बिरामीहरुलाई वितरण गरिने अभियन्ता डा. शर्माले जनाए । ‘अहिले एक सय २५ जना बिरामीको लागि औषधी तयारी छ’ ब्लाष्टसँग उनले भने, ‘त्यस्ता गरिब बिरामीको चाप हेरेर थप औषधी मगाउन सक्छौं ।’ प्रतिष्ठानबाहिरका चिकित्सकहरुले सिफारिस गरेको र साँच्चै गरिब बिरामीको लागि पनि त्यो औषधी दिन सकिने उनले बताए ।
केएचडीसी कार्यक्रमको प्रभावपछि डेनमार्कमा रहेका धराने डा. अमृत राईले ११ लाख रुपैयाँको एन्टिवायोटिक औषधी निःशुल्क पठाएका छन् । ती औषधी पनि निःशुल्करुपमा वितरण गरिनेछ । डा. राईले सामाजिक संस्था जीएमएमार्पmत् औषधि पठाएर अमूल्य सहयोग गरेको डा. शर्मा बताउँछन् । त्यो एन्टिवाइटिक किनेर खानुपर्दा एकजनालाई १५ देखि २० हजार रुपैयाँसम्म लाग्ने बताइएको छ ।
रोट्र्‍याक क्लब अफ धरान घोपाको सहयोगमा औषधी वितरण कक्ष सञ्चालन गरिएको छ । त्यसबाहेक केएचडीसी कार्यक्रममा लामो समयदेखि लागिपरेका प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहनेछ ।

No comments:

Post a Comment